सिमा गाउँमा घट्दै गएको धानखेती, मकैतर्फ किसानको झुकाव

२०८२ कार्तिक २३ आइतबार १९:१६:०० मा प्रकाशित
फाइल फोटो

रूकुम पूर्व । भूमे गाउँपालिका–३ सिमा गाउँ, आफ्नो धानखेती परम्पराका लागि पहिचान राख्दै आएको थियो। तर पछिल्ला वर्षमा यहाँको धान उत्पादन घट्दो क्रममा रहेको छ।
स्थानीय किसान राजन पुन मगरका अनुसार, “पहिले सिमा गाउँ धानखेतीको लागि परिचित थियो। तर प्राकृतिक विपत्ति र युवा पुस्ताको खेतीप्रति कम चासोका कारण खेतमा मकै रोप्न सुरु भयो। अब पहिले जस्तो धान रोपाइको परम्परा छैन।”

चन्द्र रसाइलीले बताए अनुसार, सिमा गाउँमा धान रोप्ने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ। बर्खे धान यहाँको मुख्य खाद्यान्न मात्र नभई गाउँको पहिचान र इतिहासको हिस्सा पनि हो। तर पछिल्लो समय धेरै किसान मकैतर्फ आकर्षित भएका छन्।

स्थानीय तथ्यांक अनुसार, सिमा गाउँका करिब ७० प्रतिशत किसान विगतमा धान खेतीमा निर्भर थिए। तर विगत पाँच वर्षयता धानको उत्पादन घट्दै गएको छ। किसान भाबी पुनले भने, “मकै खेती सजिलो र जोखिम कम भएकाले धेरैले त्यसतर्फ लागेका छन्। उच्च भेगमा धान रोपाइ धेरै श्रम माग्छ, र हामीसँग हल–गोरु र जनशक्तिको कमी छ। छोरा–छोरी शहर गएका छन्, गाउँ सुनसान जस्तो बनेको छ।”

परम्परागत रूपमा सिमा गाउँले रातो र कालो धान उत्पादन गर्दै आएको छ। यी जातहरू स्थानीय जलवायु र माटोका कारण विशेष स्वाद र मौलिक पहिचानका रूपमा चिनिन्छन्। यद्यपि उत्पादन घटे पनि किसानहरूले धान रोपाइको परम्परा जोगाइरहेका छन्।