रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

२०८३ कार्तिक ८ शनिबार ११:२८:०० मा प्रकाशित
संकेत तस्बिर:

रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। घरनजिकै खेलिरहेका बलबहादुर नाथका छोरा रमेश नाथमाथि सोही स्थानका भक्तबहादुर नाथले शुक्रबार बेलुका ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुका करिब साढे ५ बजे टाउकोमा ढुङ्गा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि पिपल स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएका बालकलाई चिकित्सकले सोही दिन राति करिब १० बजे मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भक्तबहादुर नाथलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार अन्दाजी ३३ वर्षीय नाथलाई शुक्रबार राति आफ्नै गाउँको जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार पक्राउ परेका नाथको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

पक्राउ परेका नाथलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए।