बाढीपीडितको दशैँ होल्डिङ सेन्टरमै बित्यो

२०८३ कार्तिक ५ बुधबार २१:३८:०० मा प्रकाशित

काठमाडौँ । देशभर बडादशैँको उल्लास छाइरहँदा भोटेकोशी बाढीपीडितका लागि भने यस वर्षको दशैँ पीडा, अभाव र अनिश्चितताबीच बितेको छ।

गत भदौ १० गतेको बाढीले घरबार उजाडेपछि काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारले आफ्नै घरमा बसेर दशैँ मनाउने चाहना अधुरै राख्नुपरेको छ।

काठमाडौँको स्वयम्भू क्षेत्रमा चार सयभन्दा बढी र सुन्दरीजलको बीपी चोकस्थित होल्डिङ सेन्टरमा ६८ घरधुरी बाढीपीडित आश्रय लिएर बसिरहेका छन्। आफन्त गुमाएका र कतिपय आफन्त अझै बेपत्ता रहेका परिवारका लागि दशैँ खुसीभन्दा बढी पीडा सम्झाउने पर्व बनेको छ।

घरबारविहीन बनेका प्रभावित परिवारलाई अब कहाँ बस्ने, कसरी जीविकोपार्जन गर्ने र बालबालिकाको पढाइ कसरी अघि बढाउने भन्ने चिन्ताले सताएको छ। त्यसमाथि चिसो बढ्दै जाँदा न्यानो कपडा, ओढ्ने–ओछ्याउने र सुरक्षित आवासको अभावले उनीहरूको कठिनाइ थप बढ्ने जोखिम छ।