निर्मल आचार्य : विचार, व्यवहार र भरोसाको सङ्गम
दाङ । दाङ क्षेत्र नम्बर २ को चुनावी मैदानमा निर्मल आचार्य केवल एक उम्मेदवार मात्र होइनन्, उनी लामो सङ्घर्षबाट खारिएका प्रतिनिधि हुन्। ‘बेपत्ता’को सूचीदेखि स्नातकोत्तर तहसम्मको जीवनयात्रा तय गरेका आचार्य यतिबेला बौद्धिक वर्ग, सहरी मध्यम वर्ग र युवामाझ भरपर्दो विकल्पका रूपमा देखिएका छन्।
विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका आचार्यको पृष्ठभूमिमा जेल जीवन, भूमिगत सङ्घर्ष र शैक्षिक निरन्तरता जोडिएको छ। यही पृष्ठभूमिले उनलाई विचारमा दृढ र व्यवहारमा सरल बनाएको स्थानीय बुद्धिजीवीहरू बताउँछन्। ठूलो आश्वासनभन्दा पनि कामको कुरा गर्ने नेताका रूपमा उनको पहिचान स्थापित हुँदै गएको छ।
बौद्धिक वर्गको भरोसा
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका आचार्य सुशासन, संस्थागत सुधार र नीतिगत स्पष्टताका पक्षधर मानिन्छन्। विचारमा स्पष्टता र संवादमा विनम्रता भएकै कारण शिक्षक, कानुन व्यवसायी र सचेत मतदातामाझ उनको स्वीकार्यता बढ्दो छ।
मध्यम वर्गसँगको सामीप्यता
दाङको व्यापार–व्यवसायमा संलग्न मध्यम वर्गले स्थिर नीति, सहज कर प्रणाली र पूर्वाधार विकास खोजिरहेको छ। आचार्यले स्थानीय उत्पादन, रोजगारी र बजार विस्तारमा जोड दिएका कारण व्यवसायी समुदायसँग उनको संवाद सहज बनेको छ। बजार क्षेत्रमा उनलाई ‘सुन्ने र बुझ्ने नेता’का रूपमा हेरिन थालिएको छ।
युवामैत्री र मिलनसार शैली
आचार्यले युवासँगको भेटघाटमा औपचारिकताभन्दा मिलनसार व्यवहारलाई प्राथमिकता दिने गरेका छन्। स्टार्टअप, सीप विकास र रोजगारीका विषयमा उनको स्पष्ट दृष्टिकोणले युवालाई आशावादी बनाएको छ। सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रत्यक्ष जनसम्पर्कमा विश्वास गर्ने उनको शैलीले युवाहरू आकर्षित भएका छन्।
चुनावी गणित र जितको आधार
दाङ–२ मा कम्युनिस्ट मतको आधार अझै बलियो देखिन्छ। अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट रेखा शर्माले नेकपा एमालेका अध्यक्ष शङ्कर पोखरेललाई पराजित गरेको इतिहास ताजा छ। अहिले वामपन्थी शक्तिहरूको साझा उम्मेदवारका रूपमा मैदानमा रहेका आचार्यलाई त्यही बिरासत र जनमतले बल पुर्याएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति र बदलिँदो राजनीतिक समीकरणबीच आचार्यले मत विभाजनलाई न्यून राख्दै बौद्धिक, मध्यम र युवा वर्गलाई जोड्न सके जितको आधार मजबुत हुने विश्लेषकहरूको तर्क छ।
सरलता, सादगी र सङ्घर्षको इतिहास बोकेका आचार्य मतदातासँग भिजिने शैलीकै कारण आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। यस्तै, समानुपातिकतर्फका उम्मेदवार सस्मति चौधरी र भीमकुमारी बुढा दाङकै हुनु र उनीहरू आ–आफ्नो क्लस्टरमा एक नम्बरमा रहेकाले थारू, मगर, दलित र जनजाति समुदायको मत आचार्यको पक्षमा थप आकर्षित हुने थारू तथा मगर अगुवाहरूको बुझाइ छ।