कुवेतबाट ९ नेपालीको शवसहित विशेष विमान नेपालमा

२०८२ चैत १८ बुधबार २१:०१:०० मा प्रकाशित

कुवेतको हवाई क्षेत्र तथा नियमित व्यावसायिक उडानहरू बन्द रहेको विशेष परिस्थितिमा त्यहाँस्थित नेपाली राजदूतावासको पहलमा ९ जना नेपालीको शव र डिपोर्टी (स्वदेश फर्काइएका) नेपाली नागरिकहरूलाई विशेष विमानमार्फत आज नेपाल ल्याइएको छ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार विभिन्न कारणले कुवेतबाट निष्कासित (डिपोर्ट) गरिएका नेपालीहरू तथा त्यहाँ मृत्यु भएका नौ जनाको शव बोकेर कुवेत एयरवेजको विशेष विमान नेपाल आइपुगेको हो।

नियमित हवाई सेवा अवरुद्ध रहेकै अवस्थामा दूतावासले कुवेत एयरवेजसँग समन्वय गरी उक्त विशेष उडानको व्यवस्था मिलाएको जनाएको छ। दूतावासका अनुसार अलपत्र परेका तथा मानवीय संवेदनाका आधारमा तत्काल स्वदेश फर्काउनुपर्ने नेपालीहरूलाई प्राथमिकतामा राखेर उक्त उडान सञ्चालन गरिएको हो।

उक्त विमान भैरहवा विमानस्थलमा अवतरण गरेको थियो।