भूमे–५ दालिबाङमा सामुदायिक स्वास्थ्य भवन निर्माण
रुकुम पूर्व । भूमे गाउँपालिका, नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र, फेयरमेड फाउन्डेसन र स्थानियको श्रमदानमा बनेको सामुदायिक भवन बुधवार उद्घाटन गरिएको छ । भूमे–५ दालिबाङमा बनेको उक्त सामुदायिक स्वास्थ्य भवन भूमेका अध्यक्ष होमप्रकाश श्रेष्ठ लगायत संयुक्त रुपमा उद्घाटन गरिएको बताइएको छ ।
भूमे गाउँपालिकाको ११ लाख बजेट, नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र, फेयरमेड फाउन्डेसनसंग साझेदारीमा संञ्चालित सम्बोधन परियोजनाबाट ४ लाख र स्थानियको पौने २ लाख श्रमदान गरि जम्मा १७ लाख बजेटमा भूमे–५ दालिबाङमा बनेको उक्त भवन उद्घाटनले स्थानिय सेवाप्रवाहमा थप टेवा पुगेको छ ।
कार्यक्रममा बोल्दै भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले पालिकाको स्रोतले पुगेसम्म आधारभूत विकास पूरा गर्ने प्रतिबद्धता जनाए । उनले सक्दो प्रत्येक टोलमा स्वास्थ्य सेवा विस्तार गरिराखेको औंल्याए ।
त्यस्तै वडाध्यक्ष टेकप्रसाद बुढाले आफ्नै भवनबाट सेवा दिन सहज भएको र सामुदायिक स्वास्थ्य इकाइलाई थप विकास गर्दै जानुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठसहित विभिन्न निकायमा अवद्ध प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।