भूमे- ५ लाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

२०८३ बैशाख ४ शुक्रबार १९:५५:०० मा प्रकाशित

४ वैशाख, रूकुम पूर्व । रूकुम पूर्वको भूमे गाउँपालिका–५ लाई पूर्णखोप सुनिश्चितता वडा घोषणा गरिएको छ । शुक्रबार आधारभूत स्वास्थ्य केन्द्र सेराबाङमा आयोजित विशेष कार्यक्रमका बीच उक्त वडालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।

बालबालिकालाई आवश्यक सबै खोप समयमै उपलब्ध गराई स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान सफल भएपछि वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । यसलाई स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच र जनचेतनामा आएको सकारात्मक परिवर्तनको संकेतका रूपमा समेत हेरिएको छ।

कार्यक्रममा पूर्ण खोप अभियान सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै चार जना महिला स्वास्थ्य स्वयंसेविकालाई खादा तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो । उनीहरूको निरन्तर सक्रियता, घरदैलो पहुँच र जनचेतनामूलक भूमिकाले अभियान सफल बनाउन ठूलो सहयोग पुगेको बताइएको छ ।

भूमे-५ का वडाध्यक्ष टेक प्रसाद बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठकोे प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बालबालिकाको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य सेवा सुदृढीकरणमा निरन्तर काम गरिने प्रतिबद्धता जनाए ।

त्यसैगरी, कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादव, जिल्ला समन्वय समितिका सदस्य विष्णु रोका लगायत वक्ताहरूले पूर्णखोप अभियानले समुदायमा सकारात्मक प्रभाव पारेको बताउँदै यसलाई दीगो रूपमा कायम राख्न सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा वडा सदस्यहरू, उपल्लो साकिम, सेराबाङ र ढालिबाङका आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समुदायस्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेविकाबीचको सहकार्यले अभियान प्रभावकारी बनेको सहभागीहरूले बताएका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य भारती नेपालीले स्वागत मन्तव्य राखेका थिए भने उक्त कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्रका अहेव प्रकाश विकले गरेका थिए ।