स्वास्थ्य कार्यालय रूकुम पूर्वद्वारा स्वास्थ्यकर्मीहरूसंग अभिमुखीकरण
१२ वैशाख, रूकुम पूर्व। स्वास्थ्य कार्यालय रूकुम पूर्वले शनिबार स्वास्थ्यकर्मीमार्फत कुपोषित बालबालिकाहरूको खोजपड्ताल गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सदरमुकामस्थित चाइनिज होटलमा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रमले जिल्लामा रहेका कुपोषित बालबालिकाहरूको खोजपड्ताल गर्नेछ ।
कुपोषित बालबालिकाहरूलाई पहिचान गर्दै राष्ट्रिय खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले तयारी गरेको छ । जसमध्ये रूकुम पूर्वका ३ पालिकाका ३१ वडाहरूमा रहेका ६ महिनादेखि ५९ महिनासम्मका उमेर समूहका बालबालिकाहरूमा कुपोषणको खोजपड्ताल गरिनेछ ।
रूकुम पूर्वमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको संख्या जम्मा ५ हजार २ सय ७६ जना रहेको छ । जसलाई पालिका स्तरमा हेर्दा पुथा उत्तरगंगा गाउँपालिकामा १ हजार ६ सय ३६, भूमे गाउँपालिकामा १ हजार ८ सय ५२ र सिस्ने गाउँपालिकामा १ हजार ७ सय ८६ जना गरी जम्मा ५ हजार २ सय ७६ जना ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरू रहेका छन् ।
कार्यक्रममा ३ पालिकाका विभिन्न टिम र कार्ययोजना बनाइएको छ । जसमा विभिन्न स्वास्थ्यकर्मीको टोलीलाई कार्यविभाजन पालिकाबाट गरिएको छ र समयतालिका पनि तयार गरिएको छ । कार्ययोजना प्रस्तुतीकरण प्रत्येक पालिकाका प्रतिनिधिले गरेका थिए । जुन कार्ययोजनाले कुपोषित बालबालिका खोजमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य कार्यालय रूकुम पूर्वका अनुसार उक्त बालबालिकाहरूमा कुपोषणको खोजपड्ताल गरिनेछ । बालबालिका खोजपड्तालसम्बन्धी कार्यालयका सूचना अधिकारी निमप्रसाद गिरीले अनलाइन तरिकाबारे स्पष्ट पारेका थिए । उनका अनुसार एन्ड्रोइड मोबाइलमार्फत Kobo Collect एपमार्फत अनलाइन इन्ट्री गर्न सकिने बताए।
स्वास्थ्य कार्यालय रूकुम पूर्वका प्रमुख पशुपति आचार्यका अनुसार उक्त एपमार्फत जिल्लाको जुन क्षेत्रमा कुपोषित बालबालिकाको खोजपड्ताल गर्दा अनुगमन र संख्या विवरण सहजै पाउन सकिने बताए । उनले खोजपड्ताल कार्यक्रम गर्दा बालबालिकाका अभिभावकलाई कार्यक्रमको बारे स्पष्ट पारी सबै प्रक्रिया पूरा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रमुख आचार्यका अनुसार कुपोषित बालबालिकाहरूको खोजपड्ताल वैशाख १५ देखि ३० गतेसम्म चल्नेछ । उक्त कार्यक्रममा स्वास्थ्य संस्थामा आबद्ध विभिन्न तहका स्वास्थ्यकर्मीहरू लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका यादव प्रसाद शर्माले गरेका थिए।