छार्का ताङसोङमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
डोल्पा, ९ जेठ । डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको केन्द्र कागकोट क्षेत्रमा सेवा विस्तार गरिएको हो ।
समुद्री सतहदेखि करिब ४ हजार २ सय मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।
यो माथिल्लो डोल्पामा सञ्चालनमा आएको पहिलो फोरजी साइट भएको टेलिकमले जनाएको छ । यससँगै देशभर फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७ सय ५० पुगेको छ ।
अब डोल्पाका डोल्पो बुद्ध गाउँपालिका, शे-फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा फोरजी सेवा विस्तार गर्न बाँकी रहेको जनाइएको छ ।
नेपाल टेलिकमले दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्दै स्थानीय बासिन्दा, पर्यटक तथा पदयात्रीलाई सेवा सहज बनाउने जनाएको छ ।