सिस्ने कपको उपाधि सिस्ने–४ ले जित्यो

२०८३ जेठ १० आइतबार २२:२८:०० मा प्रकाशित

१० जेठ, रूकुम पूर्व । रूकुम पूर्वको सदरमुकाममा आयोजना गरिएको “सिस्ने कप” भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ सिस्ने–४ र महिलातर्फ सिस्ने–८ ले जितेका छन् । सिस्ने गाउँपालिकाको आर्थिक सहयोग तथा सिस्ने युवा विकास केन्द्रको आयोजनामा सञ्चालन भएको तेस्रो सिस्ने कप आइतबार सम्पन्न भएको हो ।

पालिकाको वडा नम्बर ६ स्थित ढकालबारा रंगशालामा सम्पन्न उक्त प्रतियोगितामा सिस्ने–४ ले सिस्ने–७ लाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको आयोजकले जनाएको छ । आयोजकका अनुसार पुरुषतर्फ सिस्ने–७ दोस्रो, सिस्ने–६ तेस्रो तथा सिस्ने–१ सान्त्वना भएको हो ।

त्यस्तै महिलातर्फ सिस्ने–८ ले सिस्ने–४ लाई ३–२ सेटमा पराजित गर्दै तेस्रो सिस्ने कपको उपाधि जितेको छ । महिलातर्फ सिस्ने–४ दोस्रो, सिस्ने–७ तेस्रो तथा सिस्ने–४ कै ‘बी’ टिमले सान्त्वना स्थान प्राप्त गरेको थियो ।

आयोजकका अनुसार विभिन्न स्थान हासिल गर्ने टोलीहरूले तोकिएको पुरस्कार राशि प्राप्त गरेका छन् । पुरुषतर्फ प्रथम हुने टोलीले नगद १ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीहरूले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै महिलातर्फ पनि तोकिएकै पुरस्कार राशि वितरण गरिएको छ । महिलातर्फ प्रथम हुने टोलीले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टोलीहरूले क्रमशः २५ हजार, १२ हजार ५ सय र ७ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त पुरस्कार राशिबाट नियमानुसार २५ प्रतिशत करकट्टी गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा दुई जना खेलाडी उत्कृष्ट घोषित भएका छन् । पुरुषतर्फ सिस्ने–७ का रमेश कवर र महिलातर्फ सिस्ने–८ की हरिमाया कवर उत्कृष्ट खेलाडी घोषित भएको आयोजकले जनाएको छ ।

गत जेठ ७ गतेदेखि सुरु भएको सिस्ने कप आइतबार सम्पन्न भएको हो । आयोजकका अनुसार प्रतियोगिता शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख प्रशासकीय अधिकृत डिल्ली खडका, वडा नम्बर ६ का वडाध्यक्ष पूर्णजङ्ग मल्ललगायत खेलाडीहरूको उपस्थिति रहेको थियो ।