इतिहासको पदचाप, एट्रोफीको विम्ब र ‘पाटी’ बन्दै गरेका पार्टीहरू

२०८३ असार ५ शुक्रबार ११:२२:०० मा प्रकाशित

१. एउटा अध्यायको विश्राम र सद्भावको कामना

इतिहास सधैँ सीधा रेखामा हिँड्दैन; यसका आफ्नै उकाली–ओराली, घुम्ती र चक्रव्यूहहरू हुन्छन्। वि.सं. २०४८ को संसदीय निर्वाचनदेखि नै केन्द्रीय राजनीतिको मियो बन्नुभएका रोल्पाको लिवाङ माविका पूर्व विज्ञान शिक्षक कृष्णबहादुर महराले जब आफ्नो ४८ वर्ष लामो राजनीतिक यात्राबाट ‘साधारण सदस्य’ का रूपमा विश्राम लिने घोषणा गर्नुभयो, तब राप्तीका पहाडदेखि सिंहदरबारका गल्लीहरूसम्म एउटा फरक खालको सन्नाटा छायो।

यो विश्राम केवल एउटा व्यक्तिको पदत्याग होइन, बरु जनयुद्ध, चुनवाङ बैठक, शान्ति प्रक्रिया र गणतन्त्र निर्माणको एउटा सिङ्गो कालखण्डको विसर्जनजस्तै देखिन्छ। राजनीतिक उतारचढाव र व्यक्तिगत जीवनका अनेक झन्झावात (पारिवारिक शोक र कानुनी संकट) व्यहोर्दै गर्दा उहाँको शरीरमा देखिएको ‘एट्रोफी’ (Atrophy) रोग—जसले नसा र मांसपेशीहरू क्रमशः खुम्च्याउँदै लैजान्छ—आजको कम्युनिष्ट आन्दोलनको संकुचनको एउटा बलियो विम्ब बनेर उभिएको छ।

जसले हिजो हजारौँ कार्यकर्तालाई राजनीतिक तथा सामाजिक चेतनाको कखरा सिकाउनुभयो, जसको ललितपुरको कुम्भेश्वरस्थित संसद् निवास धेरैका लागि अभिभावकीय छहारी बन्यो, उहाँको बाँकी जीवन पीडामुक्त र स्वस्थ रहोस् भन्ने कामना गर्नु आज प्रत्येक शुभेच्छुकको मानवीय धर्म बन्न पुगेको छ। हिजोका तमाम कमजोरी र विवादका पाटाहरूलाई इतिहासको कसीमा छाडिदिँदै, भुइँतहबाट उठेर आन्दोलनलाई यहाँसम्म ल्याउन उहाँले खेलेको कुशल सङ्गठक तथा ‘मृदुभाषी’ नेतृत्वको भूमिकालाई सलाम गर्नैपर्छ।

२. विचारविहीन पुस्तान्तरण र ‘सिट’ को गणित

महरा सरको वक्तव्यले नयाँ ऊर्जावान् पुस्तालाई नेतृत्व सुम्पने सुन्दर अभिलाषा त व्यक्त गरेको छ, तर आजको निर्मम राजनीतिक यथार्थले एउटा गम्भीर प्रश्न उब्जाएको छ—नेतृत्व केवल जैविक उमेरले निर्माण हुन्छ कि वैचारिक चेतले?

आज पार्टीको माथिल्लो तहमा एउटा सिट खाली हुँदा नयाँ पुस्ता वा विभिन्न गुटहरूमा आफ्नो ‘नम्बर’ कति पुग्यो भनेर गणितीय हिसाब–किताब सुरु भइसकेको होला। कतिपयले यसलाई अत्यन्त सकारात्मक कदमका रूपमा टिप्पणी पनि गरेका छन्। तर चुनौती उमेरको होइन, विचारको हो। यदि नयाँ पुस्तासँग वर्तमान युगका आर्थिक–सामाजिक अन्तर्विरोधहरू समाधान गर्ने स्पष्ट कार्यदिशा र दृष्टिकोण छैन भने नेतृत्व २५ वर्षको होस् वा ७० वर्षको, त्यसले समाजलाई कुनै नयाँ दिशा दिन सक्दैन।

किरण र बादलजस्ता वैचारिक तथा सङ्गठनात्मक खम्बाहरू अलग हुनु र पोस्टबहादुर बोगटीजस्ता निष्ठावान् सारथीको असामयिक निधनपछि पछिल्लो चरणमा महरा सर कमरेड प्रचण्डका निकट सारथीका रूपमा काम गर्नुभयो। तर श्रीमतीको निधन, सचिवालयकी कर्मचारी रोशनी शाहीसँग जोडिएको प्रकरण तथा चिनियाँ व्यापारीसँग सम्बन्धित सुन तस्करी प्रकरणपछि उहाँ क्रमशः एक्लिँदै जानुभयो।

सारथीहरू सकिँदै जाने र वैचारिक स्कुलिङ रोकिने यो प्रक्रियाले पार्टीलाई ‘केन्द्रीकृत सत्ता’ मा त रूपान्तरण गर्‍यो, तर नयाँ क्रान्तिकारी विचारको विकासलाई ठप्प बनाइदियो। महरा सरजस्ता सरल र त्यागी नेताहरू पलायन हुने, तर पार्टीभित्र विभिन्न स्वार्थ समूहहरू सक्रिय हुने अवस्था सिर्जना हुँदै गयो।

३. ‘पार्टी’ बाट ‘पाटी’ तिरको यात्रा : सङ्गठनात्मक र सांस्कृतिक चुनौती

आजको कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो सांस्कृतिक सङ्कट नै यही हो कि हिजो जुन संस्था ‘सर्वहारा वर्गको अग्रदस्ता’ अर्थात् पार्टी थियो, आज त्यो बिस्तारै यात्रीहरू आउने–जाने, स्वार्थअनुकूल ओत लाग्ने एउटा सार्वजनिक ‘पाटी’ मा परिणत हुँदै गएको छ।

निस्वार्थ भावले आन्दोलनको नेतृत्व गर्ने र श्रमजीवी जनताको सुख–दुःखमा भिज्ने महरा सरजस्ता भुइँतहका नेताहरूको नर्सरी आज भत्किएको छ। त्यसको ठाउँमा स्वार्थ–प्रेरित गुटगत राजनीति, जातिवाद, क्षेत्रवाद र ‘यसम्यान’ (जी–हजुरिया) हरूको झुन्ड तयार गर्ने आत्मघाती प्रवृत्ति हावी भएको छ। पार्टी कब्जा गर्ने नियतले विचारहीन भीड जम्मा गरिँदैछ, जहाँ आफ्ना गुटका मानिस जतिसुकै भ्रष्ट, अनैतिक वा कानुनी कठघरामा उभिएका भए पनि उनीहरूलाई अन्धो संरक्षण गरिन्छ, जबकि फरक विचार र समूहलाई क्रमशः किनारातिर धकेलिँदै लगिन्छ।

हिजो सङ्गठन निर्माण भनेको भुइँतहका उत्पीडित वर्गसँग एकाकार हुनु थियो। आज सङ्गठन भनेको सामाजिक सञ्जालका एल्गोरिदम, मिडिया सेन्सेसन, शक्ति केन्द्रहरूसँगको उठबस तथा बिहान–साँझ नेतृत्वको वरिपरि घेराबन्दी गर्नुजस्तो बन्न पुगेको छ।

उपभोक्तावादी संस्कृतिको चपेटामा परेको नयाँ पुस्ता ‘तत्काल परिणाम’ र ‘व्यक्तिगत फाइदा’ को व्यापारिक हिसाब–किताबमा अलमलिँदा भुइँबाट दुःख गरेर नेता बन्ने प्रक्रिया निकै मन्द, लगभग शून्यप्रायः भएको छ। हिजो आन्दोलनमा जीवन–मरणको बलिदान गर्नेहरू कुनामा बसेर टुलुटुलु हेर्न बाध्य छन्, जबकि आन्दोलनमा टाउको जोगाउन भागेकाहरू, सजिलो मौसममा पार्टीमा प्रवेश गरेका र एक पैसाको पनि कष्ट नभोगेकाहरू बढी क्रान्तिकारी देखिन थालेका छन्।

निष्कर्ष :

नेताहरू आउँछन्, जान्छन्—यो समाज र प्रकृतिको शाश्वत नियम हो। तर एउटा क्रान्तिकारी आन्दोलन तबसम्म जीवन्त रहन्छ, जबसम्म त्यसले भुइँतहका जनताको आँसु र पसिनालाई बुझ्न सक्छ।

महरा सरको यो राजनीतिक बहिर्गमनले वर्तमान नेतृत्वलाई एउटा गम्भीर आत्मसमीक्षाको अवसर दिएको छ। यदि पार्टीहरूले केवल खाली भएका ‘सिट’ हरूको लुछाचुँडीमै सीमित रहने र गाउँ–गाउँमा नयाँ वैचारिक तथा सांस्कृतिक नेतृत्व जन्माउने कारखानालाई पुनर्जीवित नगर्ने हो भने, यो आन्दोलन बिस्तारै इतिहासको एउटा धुमिल नोस्टाल्जियामा मात्र सीमित हुनेछ।

महरा सरको स्वास्थ्यलाभको कामनासहित, आन्दोलनको नयाँ चरणमा वैचारिक तथा सांस्कृतिक शुद्धीकरणको दिशामा अघि बढ्नु नै आजको साँचो ऐतिहासिक आवश्यकता हो।