लुम्बिनीमा पनि सत्ता समीकरण फेरिने संकेत

२०८३ श्रावण १ शुक्रबार २२:२२:०० मा प्रकाशित

१ साउन, दाङ । केन्द्रमा सत्ता समीकरण फेरबदलको तयारीसँगै लुम्बिनी प्रदेश सरकारको भविष्य पनि अन्योलमा परेको छ। नेपाली कांग्रेसले सरकारमा सहभागी आफ्ना पाँच मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरे पनि बिहीबार कुनै औपचारिक निर्णय हुन सकेन।

कांग्रेसले मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा संसदीय दलको बैठक बोलाउने तयारी गरेको थियो। तर बैठक स्थगित भएपछि निर्णय शुक्रबारका लागि सारिएको छ।

बैठक बस्न नसकेपछि संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका थिए। आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने र सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना छलफलमा सहभागी भए। तर सहरी विकास तथा खानेपानीमन्त्री रोज राणा र वनमन्त्री देवकरणप्रसाद कलवार अनुपस्थित रहेपछि कुनै निष्कर्ष निस्कन सकेन।

कांग्रेसले शुक्रबार बस्ने संसदीय दलको बैठकबाट सरकारमा रहने वा समर्थन फिर्ता लिनेबारे ठोस निर्णय गर्ने तयारी गरेको छ।

यता एमाले नेतृत्वको प्रदेश सरकार भने कांग्रेसको निर्णय पर्खिरहेको छ। कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिएपछि मात्रै आगामी रणनीति तय गर्ने तयारीमा एमाले रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

कांग्रेसभित्र पनि एमालेसँगको गठबन्धन कायम राख्ने वा नयाँ सत्ता समीकरणमा जाने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। यही अन्योलका कारण लुम्बिनी प्रदेशको सत्ता समीकरण पनि प्रतीक्षाको अवस्थामा पुगेको छ।