दाङमा सासुको काजकिरिया गर्दै ज्वाइँ

२०८३ कार्तिक ५ बुधबार ०६:२१:०० मा प्रकाशित

४ कात्तिक, तुलसीपुर । नेपाली समाजमा प्रचलित परम्परागत धार्मिक मान्यतालाई चुनौती दिँदै दाङको तुलसीपुर उपमहानगरपालिका–१८, हेमन्तपुरका शिव थापाले आफ्नी सासुआमाको निधनपछि १३ दिने काजकिरिया गरिरहेका छन्।

थापा तुलसीपुर उपमहानगरपालिका–११ का शोभाराम खत्री र तुलसी खत्रीकी एक्ली सन्तान रचिता खत्रीका श्रीमान् हुन्। स्थानीयका अनुसार उनका ससुरा शोभारामको यसअघि नै निधन भइसकेको छ।

नेपाली धार्मिक परम्पराअनुसार ज्वाइँले सासुआमाको निधनपछि करिब पाँच दिनसम्म गोदान गर्ने, नुन नखाने लगायतका चलन रहेको बताइन्छ। तर, ८१ वर्षीया तुलसीको असोज ३० गते निधन भएपछि थापाले सेतो वस्त्र धारण गरी छोरासरह १३ दिने काजकिरिया गरिरहेका छन्।

थापाले पछिल्लो समय आमाको काजकिरिया छोराले नै गर्नुपर्छ भन्ने परम्परागत सोचलाई चुनौती दिएका छन्। छोराछोरी समान हुन् र छोरीका श्रीमान् पनि आफ्नै सन्तानसरह हुन् भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्। काजकिरिया गर्दा मृतकले स्वर्ग प्राप्त गर्छन् भन्ने धार्मिक मान्यता नेपाली समाजमा रहेको छ। सोही मान्यताअनुसार तुलसीका छोरीज्वाइँले आफ्नो दायित्व र जिम्मेवारी निष्ठापूर्वक पूरा गरिरहेका छन्।

यसै क्रममा तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले छोरा र छोरीबीचको विभेद अन्त्य गर्दै समानता र मानवीय सम्बन्धको महत्त्व उजागर गर्ने थापाको कार्य प्रशंसनीय रहेको बताएका छन्। थापाले सासुआमाको काजकिरिया गरिरहेको तस्बिर वडाध्यक्ष रावतले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि थापाको प्रशंसा भइरहेको छ।

नेपाली समाजमा काजकिरिया गर्ने उद्देश्यले समेत छोरा जन्माउन प्राथमिकता दिने परम्परागत सोच कायम रहेका बेला शिव थापाले सन्तानप्रतिको दायित्व लिङ्गका आधारमा फरक नहुने सन्देश दिएका छन्।