स्वास्थ्य सेवामा लक्ष्य हासिल गर्न चुनौती, ४३ मध्ये १५ सूचकमात्र पूरा
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार दिगो विकास लक्ष्य (एसडीजी) का ४३ स्वास्थ्य सूचकमध्ये १५ सूचकमा मात्र लक्ष्यअनुसारको उपलब्धि हासिल भएको छ। एएनसी, संस्थागत प्रसूति, केही खोप सेवा, एचआईभी संक्रमण, हेपाटाइटिस–बी, एलएफ केस, कुल प्रजननदर (TFR) लगायत सूचकमा प्रगति भएको मन्त्रालयले जनाएको छ।
तर मातृ मृत्युदर, पाँच वर्षमुनिको बालमृत्युदर, मलेरिया–कालाजारजस्ता बेवास्ता गरिएका ट्रपिकल रोग, नसर्ने रोग, सडक दुर्घटना, आत्महत्या, क्षयरोग तथा सुर्तिजन्य पदार्थको प्रयोगमा लक्ष्य भेट्न कठिनाइ रहेको मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार दैनिक १९ नेपालीको मृत्यु आत्महत्याका कारण हुने भएकाले मानसिक स्वास्थ्य पनि गम्भीर चुनौती बनेको छ।
हाल नेपालमा मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा १५१ रहेको र २०८५/८६ सम्म ८५ मा झार्ने लक्ष्य छ। नवजात शिशु मृत्युदर प्रतिएक हजारमा २१ रहेको र पाँच वर्षभित्र १३ मा पुर्याउने योजना छ। पाँच वर्षमुनिको बालमृत्युदर ३३ बाट २२ मा झार्ने, पुड्कोपन २५ प्रतिशतबाट १६.६ प्रतिशतमा ल्याउने तथा पूर्ण खोप प्राप्त गर्ने बालबालिका ८० प्रतिशतबाट ९५ प्रतिशत पुर्याउने सरकारी लक्ष्य छ।