भन्सार एजेन्टको आन्दोलन स्थगित, जाँचपास पुनः सुचारु
काठमाण्डौ – भन्सार एजेन्टको आन्दोलनका कारण ठप्प बनेको भन्सार जाँचपासको काम आजदेखि पुनः सुरू भएको छ। भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच आज भएको वार्तापछि आन्दोलन रोकिएको हो।
एजेन्ट महासङ्घका अध्यक्ष प्राचिनकुमार थैबले विज्ञप्ति जारी गर्दै भन्सार विभागले आफ्ना माग समाधानप्रति सकारात्मक देखिएकाले पेन डाउन कार्यक्रम फिर्ता गरिएको जानकारी दिनुभयो। विभागले पनि विज्ञप्ति निकालेर दुवै पक्षबीचको वार्ता सकारात्मक रूपमा टुङ्गिएको जनाएको छ।
भन्सार ऐन २०८२ का केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, कामको सहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पार्ने भन्दै महासङ्घले देशभरका भन्सार कार्यालयमा पेन डाउन गर्दै जाँचपास सेवा बन्द गराएको थियो।
आन्दोलन गत आइतवार वीरगञ्ज भन्सारबाट शुरू भएको थियो। दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्ण रूपमा ठप्प रह्यो भने तेस्रो दिन हिजो देशभरका सम्पूर्ण भन्सार कार्यालयका सेवाहरू अवरुद्ध भएका थिए।