‘आबाट आमा’ १६ माघदेखि प्रदर्शन, गीत युट्युबमा रिलिज
काठमाडौँ । निर्देशक चन्द्र पन्तको फिल्म ‘आबाट आमा’ को गीत ‘सृष्टिकै पहिलो नाम’ सोमबार युट्युबमा रिलिज भएको छ। गीतमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल र गजित विष्टले अभिनय गरेका छन्।
गीतमा परदेशिएको छोराको विलौना र आमाको मायालाई मार्मिक तरिकाले देखाइएको छ। शब्द तथा संगीत बाबुल गिरीको हो भने गायन रवि ओडले गरेका छन्। निर्देशक पन्तले यो फिल्म आफ्नो स्वप्न प्रोजेक्ट भएको बताउनुभयो।
फिल्म आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो र यसमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गरेका छन्। कार्यकारी निर्माता करणसिंह रसाइली हुन्। फिल्म १६ माघदेखि प्रदर्शनमा आउने तयारीमा छ।